ए कमरेड !
अम्रिसो बेचेर समाजवाद आउने भए
पहिले मेरी आमालाई आउनु पर्थ्यो
मेरी आमा धनाढ्यको आगनहरूमा
धाउनु किन पर्थ्यो ?
ए कमरेड !
कुखुरा, गाई, भैंसी र बङ्गुर पालेर समाजवाद आउने भए
त्यो पनि पहिले मेरी आमालाई आउनु पर्थ्यो
बा'हरू साहु-महाजनको दैलो र गोठमा
धाउनु किन पर्थ्यो ?
ए कमरेड !
धान रोपेर समाजवाद आउने भए
पहिले हाम्रा किसानको घरमा आउनु पर्थ्यो
यो देशका किसानहरू जमिन्दारको जमिनहरूमा
धाउनु किन पर्थ्यो ?
ए कमरेड !
श्रम मात्रै गरेर समाजवाद आउने भए
पहिले अजय सुमार्गी र विनोद चौधरिको उद्योगमा
काम गर्ने मजदुरको घरमा आउनु पर्थ्यो
यो देशका नौजवान युवाहरू खाडी मुलुक
धाउनु किन पर्थ्यो ?
ए कमरेड !
मिनिमार्ट बनाएर समाजवाद आउने भए
पहिले प्रेमप्रसाद आचार्यहरूको घरमा आउनु पर्थ्यो
यो देशका उद्यमीहरू दलाल पुँजीपतिकोमा
धाउनु किन पर्थ्यो ?
ए कमरेड !
संशोधनवादीहरूसँग मोर्चा बनाएर समाजवाद आउने भए
हजारौंँ सपुतहरूले रगत नबगाउँदै आउनु पर्थ्यो
मालेमावादी दृष्टिकोण सहितको कम्युनिस्ट पार्टी
बनाउनु किन पर्थ्यो ?