फुलिरहँदा...
ढकमक्क फुल्न मन छ
झरिरहँदा....
छपक्कै भुइँ छोप्न मन छ
सहरका सबै कृत्रिम शृङ्गारहरुका विरुद्ध
विद्रोह गर्दै
आफै भित्रको सुन्दरतालाई
प्रस्फुटित पारिदिने
ज्याकाराण्डाको फूल जस्तै
फुल्न, झर्न र विद्रोही बन्न मन छ !
आयु छोटो नै किन नहोस
फुलेर छिट्टै झर्न किन नपरोस
फुल्नु र छिट्टै झर्नु बिचको छोटो
तर
अर्थपूर्ण जीवन बाँच्न मन छ
ज्याकाराण्डाको फुल सरि !
ल हेरौं त एकफेर
ज्याकाराण्डाको फुललाई
यो चैत-वैशाखको हुरीबतास र
खडेरीलाई चुनौती दिदै
वसन्त ऋतुको आगमनमा समागम हुँदै
सबै चुनौतीहरुका जन्जिरहरु चुडाँलेर
यसरी उन्मुक्त भएर
बेपरवाह फुल्नुपनि त
आफैंमा उसको विद्रोह हो !
हुरी-बतास सङ्ग जुँधेर
ढकमक्क फुलेको
यो त्यही फूल हो
जसले बाटोमा मुर्झाएर हिडिरहेको
निराश बटुवाका
ओइलिएका सपनाहरुलाई
फुल्न प्रेरित गर्छ
र
जब हेर्छ त्यो बटुवाले
ढकमक्क फुलेको
ज्याकाराण्डाको फुलतिर
खडेरीमा ओलिइएको बोटमा
कसैले एक अञ्जुली पानी खन्याएर
जीवनमा एकमुठ्ठी प्राण भरेको
अनुभुति हुन्छ उसलाई
अनि
अनेकन चुनौतीहरुसङ्ग जुधेर
बाँच्ने आश जाग्छ !
त्यसैले म भन्छु...
जसरी ज्याकाराण्डा
फुल्नु प्रति प्रतिबद्ध छ ,
हामी बागी र क्रान्तिकारीहरु
युद्ध र अशान्ति
दमन र शोषण
अन्याय र अत्याचार
असमानता र विभेदका विरुद्ध
हाम्रो विद्रोह र क्रान्ति प्रति प्रतिबद्ध बनौं
र
ज्याकाराण्डाको फूल सङ्ग पनि
प्रतिबद्धता गरौं कि....
प्रिय ज्याकाराण्डा
अब अर्को बसन्तमा तिमि फुल्ने बेला
क्रान्ति पनि फुलेको हुनेछ !