प्रियसी !
सुन्दरताको मापन
अनुहारमा दलिएको
कस्मेटिक लेपन
र
छालाको रङ्गबाट होइन,
निधार बाट बगेको पसिना
र
मानसपटलमा भएको चेतनाले हुन्छ,
आउ सुन्दर चेतनाको निर्माण गरौं
अनि
प्रेम गरौं !
प्रियसी,
अभाव
उत्पीडन
दमन र शोषण बाट
रङ्ग उडेकोहरुको
बेरङ्ग दुनियाँकै म पनि एक पात्र हु ,
उनिहरुको दुनियाँ रङ्गिन नहुन्जेल
मायाको रङ्ग मात्रै
रङ्गिएर कसरी बस्नु ?
आउ क्रान्तिको रातो रङ्गमा
रङ्गिदै प्रेम गरौं !
प्रियसी...
दबिएका
पिल्सिएका
हेपिएका
र
चेपिएकाहरुको
देशमा
प्रेम गित मात्रै
लेखेर कसरी बस्नु ?
आउ मुक्तिका गित लेख्दै प्रेम गरौं !
प्रियसी,
म
यो दमन, शोषण
र
उत्पीडिनले भरिएको दुनियाँमा
असाध्यै निस्सासिएको छु,
मलाई
न्याय, समानता
र
स्वतन्त्रताले भरिएको दुनियाँ
निर्माण गर्ने बाटो
असाध्यै प्रिय लाग्छ,
आउ दुवै मिली
त्यही बाटोमा
सहयात्राका पाईला अघि बढाउदै
निस्वार्थ प्रेम गरौं !