२९ अशोज २०८०

ए प्रिय माली 

तिमिले

बगैंचाको गोडमेल

 र

कलिला मुनाहरुको स्याहार गर्ने पो हो त,

हुर्कदै गरेका मुनाहरु र 

फक्रीदै गरेका फुलहरुलाई

निमोठेर फाल्न पाईन्छ र ?


बगैंचाबाट उखेलेर फाल्ने 

झारपात पो होला त 

उल्टै 

हुर्किने लागेका विरुवाहरुको

कत्लेआम गर्न पाईन्छ र ?


हेर...

उजाड मरुभूमिको 

निरस मालिक बन्नु भन्दा 

सुन्दर फुलबारीको 

माली बन न प्रिय,

बरु  त्यो फुलबारीमा 

म पनि फुलेर 

मगमग बास्ना छरि दिउँला !


प्रिय म चाहन्छु 

तिम्रो हातले फुलहरु रोपुन,

झारपातहरु उखेर फालुन,

फक्रीनै नपाएका कोपिलाहरुलाई 

 चुँडालेर नफालुन !


तिम्रो नजरमा 

दृष्टि दोष भएछ कि कतै 

फुलहरुलाई झारपात देख्ने,

झारपातहरुलाई फुल देख्ने,

एकपल्ट गहिरिएर सोचिदेउन न प्रिय

यो मेरो अन्तिम अनुरोध र आग्रह हो,

अन्यथा 

फुलहरुको विद्रोहले 

काँडा भन्दा नि बढी बिजाउनेछ !! 

प्रतिक्रिया