‘भाटभटेनीको जग्गा लिनु गलत भनेकाले मलाई निलम्बन गरियो’

Nagarpati 1934+ समाचार ( )
१२ मंगशिर २०८१

बुटवल । नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङबाट पार्टीले जग्गा दान लिनु गलत भनेकै आधारमा आफूलाई पार्टीले निलम्बनको प्रचार गरेको बताएका छन् । निलम्बनको प्रक्रिया समेत पूरा नगरिएको उनको भनाइ छ ।

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै उनलाई नेकपा एमाले बाँके जिल्ला कमिटीले निलम्बनको निर्णय गरेको थियो । पार्टीलाई हानिनोक्सानी पुर्‍याउने मनसाय राखेर सामाजिक सञ्जालमा लेख्‍नेलगायत गतिविधि गरेको भन्दै मंगलबार पार्टी सदस्यबाट निम्बन गरिएको पत्र सार्वजनिक भएको थियो ।

उनले मैले मिनबहादुर गुरुङबाट जग्गा दान लिनु गलत भन्दै सामाजिक सन्जालमा लेखेका थिए । त्यसवाफत् जिल्ला कमिटीले उनलाई स्पष्टीकरण सोधेको थियो । तर स्पष्टीकरण चित्तबुझ्दो भएन भन्दै निलम्बनको निर्णयसहितको पत्र सार्वजनिक भएको थियो ।

निलम्बनबारे अनलाइनखबरले प्रतिक्रिया माग्दा चौधरीले जिल्ला कमिटीको निर्णय विधान विपरीत भएको टिप्पणी गरे । ‘जिल्ला कमिटीले प्रदेश कमिटीलाई कारवाहीको सिफारिससम्म गर्न सक्छ तर निलम्बन गर्ने अधिकार छैन,’ उनले भने, ‘जिल्ला अध्यक्षले पार्टी विधान राम्ररी अध्ययन नगरेको हो कि विधि प्रक्रिया विपरीत जे गरे पनि हुन्छ भनेर हो बुझ्न सकेको छैन ।’

भ्याट छली प्रकरणमा दोषी प्रमाणित भएका र ललिता निवास जग्गा प्रकरणमा अदालतमा मुद्दा विचाराधीन रहेका गुरुङबाट जग्गा दान लिने कुरा एक सचेत नागरिक र कम्युनिष्ट पार्टीको सदस्यका नाताले गलत लागेर सामाजिक सञ्जालमा लेखेको चौधरीले बताए । ‘पार्टी अफिस बनाउन भनेर देशभरिबाट पार्टी सदस्यसँग लाखौं सहयोग उठाइएको थियो, तर पार्टीमा छलफल बहस नगरी एकाएक के कारणले एकजना ब्यापारीबाट जग्गा दान लिइयो ?’ चौधरीले भने, ‘यो कुरा कत्ति पनि ठीक लागेको छैन ।’

पार्टी हितकै लागि आफूले गलत कुराको आलोचना गर्ने गरेको भन्दै चौधरीले जायज कुरा नसुन्ने र उल्टो कारवाही गर्दै जाने हो भने एमालेलाई जनताले नै सुधार्न पर्ने टिप्पणी गरे । ‘जनताले सुधार्नु पर्‍यो भने पार्टीलाई निकै महँगो हुन्छ,’ उनले भने ।

बाँके–१ (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद चौधरी पूर्वमन्त्री समेत हुन् । लिला गिरी मुख्यमन्त्री हुँदा चौधरी मन्त्री थिए । उनि माओवादी युद्धकालका चर्चित कमाण्डर समेत हुन् । एमाले र माओवादी मिलेर नेकपा बनेपछि भएको विभाजनमा उनी केपि ओलिलाई साथ दिएका थिए । चौधरी यसअघि एमाले लुम्बिनीको प्रदेश कमिटी उपसचिव थिए । तर गत वर्ष सम्पन्न बुटवलमा भएको प्रदेश अधिवेशनमा उपसचिव पदमा झिनो मतले पराजित भएका थिए । अनलाइन खबर 

प्रतिक्रिया