सिराहा । सिरहाको गोलबजार–७ स्थित एपेक्स विद्या मन्दिरका शिक्षक सन्तोष गुप्ताले कक्षा ८ का १३ वर्षीय विद्यार्थी अविनास यादवमाथि बाँसको लठ्ठीले निर्घात कुटपिट गरेका छन्। विद्यालयकै प्राङ्गणमा भएको यो अमानवीय आक्रमणले निजी विद्यालयहरूको शोषणमुखी र वर्गीय चरित्रलाई उजागर गरेको छ। कुटपिटको कारण विद्यार्थी बेहोस भएका थिए, तर विद्यालय प्रशासन र प्रबन्ध समितिले कुनै कदम उठाएका छैनन्, जसले यो घटनालाई अझै गम्भीर बनाएको छ।
यो घटनापछि अखिल (क्रान्तिकारी) का अध्यक्ष रामदेव महराले एक विज्ञप्ति जारी गर्दै शिक्षक सन्तोष गुप्ता र विद्यालय प्रशासनको कडा आलोचना गरेका छन्। उनले भने, "यो घटनाले विद्यालय व्यवस्थाको असलियत दर्शाएको छ। विद्यालय प्रशासन र शिक्षकहरूको मौनता उनीहरूको अपराधमा संलग्नता हो।"
अखिल (क्रान्तिकारी)ले दोषी शिक्षक सन्तोष गुप्ता र अन्य संलग्न शिक्षकहरू तथा विद्यालय प्रशासनमाथि कठोर कानुनी कारबाही गर्न माग गर्दै पीडित विद्यार्थीको परिवारलाई क्षतिपूर्ति र विद्यालयको सार्वजनिक माफीको माग गरेको छ। संगठनले भने, "विद्यालय प्रशासन र शिक्षकहरूले यो घटनामा स्वतः उत्तरदायित्व लिनु पर्छ।"
अखिल (क्रान्तिकारी)ले चेतावनी दिएको छ कि यदि ७२ घण्टाभित्र यी मागहरू पूरा नगरेमा गोलबजार र सम्पूर्ण सिराहामा निजी विद्यालयहरूको शोषण र उत्पीडनविरुद्ध संघर्ष गर्ने जनप्रदर्शन र विद्यालय घेराउका कार्यक्रम घोषणा गर्नेछ। संगठनले शोषण र उत्पीडनको अन्त्य नभएसम्म संघर्ष जारी राख्ने दृढ संकल्प व्यक्त गरेको छ।