काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । जिल्लाको दोगडाकेदार–८ कटौजपानीबाट सिल्लेगाडा तर्फ गइरहेको से १ ज ६०३ नम्बरको जीप घोडेधारको उकालोमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा दोगडाकेदार गाउँपालिका ८ कालागाउँका ३५ बर्षीय अमरसिंह विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
गम्भीर घाइते हुनेमा कालागाउँकै ३० बर्षीया कलावती विष्ट र ४५ बर्षीय हिरा विष्ट रहेका छन् । ४ बर्षीय रियाग विष्ट, ७ बर्षीया सुशीला विष्ट र ६० बर्षीय पदम विष्ट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । ग्रामीण कच्ची सडकका कारण उकालोमा चढ्न नसकेर जीप दुर्घटना भएको प्रहरीले बताएको छ ।