काठमाडौं । धर्मेन्द्र बास्तोला 'कञ्चन' नेतृत्वको नेकपा (बहुमत) ले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा गरिएको पदिय नियुक्ति खारेज गर्न माग गरेका छ ।
संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै राजनीतिक भागबन्डाका आधारमा गरिएका सम्पूर्ण डिन र निर्देशकहरूको नियुक्ति बदर गरि मेरिटको आधारमा नियुक्ति प्रक्रियामा अगाडी बढाउन माग गरेका छन् ।
अध्यक्ष शाहद्धारा हस्ताक्षरित उक्त विज्ञप्तिमा लेखिएको छ, 'त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा पदिय नियुक्तिहरू हुने प्रक्रियाको अन्त्य भयो भन्ने अनुभुति हुन नपाउदै फेरि आठजना डिन र तीनजना निर्देशकहरूको नियुक्ति प्रक्रिया राजनीतिक भागबन्डाका आधारमा संसदीय पार्टीहरु कांग्रेस, एमाले र माओवादी (केन्द्र) ले भाग लगाएर बाँडिचुडी लिएका छन् । संसदीय पार्टीहरुको उक्त प्रक्रियाप्रति हाम्रो सङ्गठन घोर भत्सर्ना र निन्दा व्यक्त गर्दछ।'
त्यस्तै विज्ञप्तिमा भनिएको छ, 'पछिल्लो समय प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपि शर्मा ओलीको ठाडो निर्देशनमा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप भएको कुरा घाम जत्तिकै छर्लङ्ग भएको छ । उपकुलपति केशरजङ्ग बरालले भ्रष्ट र संसदीय पार्टीहरुसंग सम्झौता गरी राजनीतिक हस्तक्षेपलाई स्विकार्दै नियुक्ति प्रक्रिया अगाडि बढाउनु दुःखद, गैरजिम्मेवार र पदिय मर्यादा विपरीत भएको ठहर्छ ।'