दाङ । दाङको तुलसीपुर नगरपालिका– ११ स्थित अमर मावि उरहरीका विद्यार्थी एक्कासी बेहोस भएका छन्। कक्षा आठमा पढ्ने पाँचजना र कक्षा नाैमा पढ्ने एकजना विद्यार्थी बेहोस भएका हुन्।
गर्मीकै कारण उनीहरूमा स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले जानकारी दिए।
वलीले विद्यार्थी बेहोस भएपछि विद्यालयमै पुगेर स्वास्थ्य जाँच गरेका थिए। उनले भने, ‘सबै विद्यार्थीमा गर्मीकै कारण यस्तो समस्या देखिएको हाे। गर्मीमा खानपिनमा ध्यान नदिँदा पनि यस्तो समस्या देखिन्छन्। यस्तो समस्या देखिएपछि हामी विद्यालयमै आयाैँ। गर्मीकै कारण यस्तो भएको हो। हामीले औषधि पनि दिएका छौँ। अहिले उनीकाे अवस्था सामान्य छ।’
विद्यार्थीमा बान्ता आउने, पिसाबमा समस्या हुने, टाउको दुख्ने समस्या देखिएको थियो। गर्मीको समयमा पानी धेरै खानुपर्ने, घाममा धेरै खेल्न नहुने कुरालाई ध्यान दिनुपर्ने उनले बताए।
बुधबार साढे १ बजेतिर विद्यार्थी बेहोस भएको सोही विद्यालयका कर्मचारी वसन्त परियारले जानकारी दिए। बुधबार दाङकाे तापक्रम ४०.२ डिग्री सेल्सियस छ ।