काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर क्याम्पस) मा स्ववियु निर्वाचन प्रक्रियालाई तोडमोड गर्दै गरिएको कथित ‘सर्वसम्मत’ घोषणा विरुद्ध आवाज उठाउने विद्यार्थी नेताविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ।
नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा आरआर क्याम्पस अध्यक्ष पदका उम्मेदवार विवेक मयालमाथि दिएको जाहेरीलाई संगठनले “राजनीतिक बदला र आन्दोलनमाथि हमला” को संज्ञा दिएको छ।
स्ववियु निर्वाचनमा पटक–पटक अवरोध हुँदा अदालतले बैशाख ५ भित्र निर्वाचन सम्पन्न गर्न आदेश दिएको थियो। तर, सो आदेशको बेवास्ता गर्दै क्याम्पस प्रशासनले बैशाख १७ गते राति सहमति बिना स्ववियु समिति घोषणा गर्यो। उक्त घोषणाविरुद्ध अदालतमा रिट दिँदै विरोधमा उत्रिएका नेतामध्ये विवेक मयालमाथि जाहेरी दिइनु सँगै स्थिति थप तनावपूर्ण बनेको छ।
अखिल (क्रान्तिकारी) ले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त जाहेरीप्रति गम्भीर आपत्ति जनाएको छ। “अदालतमा कानुनी प्रक्रिया अघि बढाएको विद्यार्थीलाई फसाउन खोज्नु घोर निन्दनीय छ। यसलाई आन्दोलनमाथिको हमला र राजनीतिक दमनको स्वरूपमा लिनेछौं,” विज्ञप्तिमा भनिएको छ।
संगठनले चेतावनी दिँदै भनेको छ, “क्याम्पस प्रमुख कुनै दल विशेषको कार्यकर्ता झैं व्यवहार गर्न छाड्नुहोस्। अन्यथा हामी कडा प्रतिवादमा उत्रन बाध्य हुनेछौं।”
वर्तमान घटनाक्रमले आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी राजनीति र लोकतान्त्रिक अभ्यासमाथि गम्भीर संकट उत्पन्न गरेको विद्यार्थी संगठनहरूको ठहर छ।