काठमाडौं । बाङ्ग्लादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी छन् । सरकारविरोधी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी हुन् ।
हजारौँ प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेका छन्। उनीहरूले हसिनाको राजीनामा माग्दै आएका थिए।
सरकारविरोधी आन्दोलनका क्रममा कम्तीमा ९० जनाको मृत्यु भएको भोलिपल्ट सोमवार राजधानी ढाकाको उत्तरा नामक क्षेत्रबाट हजारौँ प्रदर्शनकारीहरूले जुलुस निकाल्न थालेपछि सेनाप्रमुखले राष्ट्रका नाममा सम्बोधन गर्ने सूचना सार्वजनिक भएको थियो। सेनाप्रमुखले विभिन्न नेताहरूसँग छलफल गरेका थिए।
स्रोतहरूका अनुसार हसिना र उनकी बहिनी शेख रेहना बङ्गभवनबाट हेलिकप्टर चढेर देशबाट बाहिर गएका हुन्।
हसिनाले देशवासीका नाममा सम्बोधन गर्ने चाहना व्यक्त गरेको भए पनि त्यो सफल हुन नसकेको बुझिएको छ।
बीबीसी बाङ्ग्लाका अनुसार ढाकाका केही स्थानमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भिडन्त भएको थियो।
बाङ्ग्लाभाषाको पत्रिका 'प्रोथोम आलो'को अनलाइन संस्करणका अनुसार प्रदर्शनकारीहरू मध्यढाकाको शाहबागतिर जान लाग्दा प्रहरीले 'साउन्ड ग्रिनेड' र अश्रुग्यास प्रहार गरेको थियो।
ढाका ट्रिब्यून र प्रोथोम आलोका अनुसार जात्राबारीमा भएको भिडन्तमा केही मानिसको मृत्यु पनि भएको छ।