तिमी आयौ मेरो गाउँ
मेरो घर अनि मेरो आँगन ।
तिमी आयौ मेरो बस्ती,
मेरो पाखा अनि मेरो बारी ।
तिमी भोट किन्न आयौ
आश्वासन बेचेर ।
आफ्ना शब्द र सपना बेचेर ।
वृद्धहरुलाई भत्ता बेचेर ।
युवाहरूलाई रोजगारीका आशा बेचेर ।
तिमी आयौ
ती बलत्कृत नानीहरुका कथा बेचेर ।
न्यायका झिना उज्याला बेचेर ।
तिमी माग्न आयौ
मेरो आस्थाको एक निशानी ।
तिमीले माग्यौ मेरो सपनाको
एक सुन्दर थुङ्गा ।
माग्यौ तिमीले
मेरो अस्तित्वको महान टुक्रा ।
तिमीले माग्यौ मेरो एक भोट ।
एक धनीको दैलोमा
बिचारको अमूल्य मत माग्न
याचक बनेर तिमी आयौ ।
सम्पन्नको आँगनमा आयौ तिमी
कालो चिप्लो जिब्रोले
भावनाका कपटपूर्ण साइनो ल्याएर ।
तिमी आयौ केही दिनको लागि
दाजु, भाइ, काका, छोरा बनेर
मेरो एक भोट माग्न ।
जब तिमी आयौ
तिमीसँगै एक अवसर आयो
गोजि भारी बनाउने, झोली भर्ने ।
तिम्रो अघिपछि लाग्नेहरुलाई,
तिम्रा आसेपासेहरुलाई,
अनि तिम्रा कार्यकर्ताहरुलाई ।
तर मैले के पाउने ?
मेरो एक भोटको मोल के ?
तिमी आफैले मेरो एक भोटलाई
अमूल्यताको उपमा दिएका हौ ।
किन्नै नसकिने उपमा दियौ
तिमी आफैले मेरो एक मतलाई ।
मेरो छनोटलाई
अनि मेरो बिचारलाई ।
के मोल पाइन्छ मेरो एक भोटको ?
तिमी एक गरिब हौ जो माग्न आयौ
म एक धनी हुँ जो तिमीलाई
अमूल्य सम्पत्ति दान दिइरहेछु ।
तिमी एक गरिब हौ
जो कोट लाएर माग्न आयौ ।
म एक सम्पन्न हुँ
जो फाटेको चप्पल लाएर
भोट दिएर आएँ ।
तर मेरो भोटको मूल्य के ?
कसैले मोल लाए
एक बोतल रक्सी र प्लेट मासुमा ।
कसैले एक पोका तेल र नुनमा ।
कसैले मोल लाए चुरोट र सुर्तीमा ।
तर म सम्पन्न मानिस हुँ ।
म के मोल लगाउँ मेरो भोटको ?
एक गरिब थियो
जसले मोल लगायो हजारको ।
अर्को एक गरिब थियो
जसले मोल लागायो लाखको ।
तर म धनी हुँ ।
के मोल लगाउँ भोटको ?
हो म पनि लगाउँछु मोल ।
जो तिमीले सिकायौ ।
उनीहरुले लगाएको मोल तिर्यौ
भोट किन्नु पहिले ।
तर मेरो भोटको मोल दिनु
पाँछ बर्षसम्म ।
किनकि म हजारको मोल लाउँदिन ।
न लाख र करोडकै लाउँछु ।
म अमूल्य भोटको मोल
अमूल्यनै लाउँछु ।
मैले दानमा दिएको छैनँ
मोलमा दिएको छु ।
मोल तिरिरहनु
दिएका सबै आश्वासन पूरा गरेर ।
देखाएका सपना यथार्थ बनाएर ।
युवाहरूलाई उत्साह र अवसर दिएर ।
छोरीहरुलाई सुरक्षा गरेर ।
आमाहरुलाई सम्मान दिएर
अनि बाबाहरुलाई सेवा दिएर ।
मेरो भोटको मोल नोटले चुक्ता हुँदैन ।
बिकास र सुशासनले हुन्छ ।
न्याय र नैतिकताले हुन्छ ।
धर्म र मर्यादाले हुन्छ ।
सुबिधा र सुरक्षाले तिर्छ
मेरो एक भोटको मोल ।
शिक्षा र बिज्ञानले तिर्छ
मेरो भोटको मूल्य ।
किनकि
मेरो एक भोट अमूल्य छ ।
जो हजारले तिर्दैन
बरु उत्पादनका बजारले तिर्छ ।
लाखले पनि तिर्दैन
बरु अवसरको सुनिश्चितताले तिर्छ ।
पाँच बर्ष छ परिक्षाको सीमा ।
तिम्रो पनि अनि मेरो पनि ।
तिमी मोल तिर्छौ या तिर्दैनौ ?
अनि मैले सहि खरिदारलाई बेचेँ या गलतलाई ?
तिमीले कर्तव्य पूरा गर्यौ भने
सोच्नेछु सहि खरिदार पाएँ ।
यदि मोल पाइनँ भने ठान्ने छु
जुवाको एक दाउमा हारेँ
मेरो एक अमूल्य भोट ।