नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकामा जनप्रतिनिधिको घरमा डोजर लगाइएको छ । गाँउपालिकाले अतिक्रमित गरी बनाइएका घर टहरा भत्काउने कार्यक्रम अन्तर्गत नरैनापुर गाउँपालिका वडा नं. १ का वडासदस्य रियाज खाँको घरमा डोजर लगाइएको हो ।
वडासदस्य रियाज खाँले अतिक्रमण गरी बनाएको घर भत्काउन पटक पटक लिखित जानकारी गराए पनि घर नभत्काए पछी डोजर लगाएर भत्काउन बाध्य भएको वडा नं. १ का वडाध्यक्ष इसाक जोहलले बताए ।
गाँउपालिकालाई व्यवस्थित गर्ने गुरु योजना अनुरुप घरटहरा भत्काउन सुरु गरिएको नरैनापुर गाउँपालिकाले जनाएको छ ।यस अन्तर्गत पहिलो चरणमा नरैनापुर वडा नं. १ को महतिनियाबाट घर तथा टहारहरु भत्काउन सुरु गरिएको छ ।
गाँउपालिका क्षेत्र भित्र सार्वजनिक जग्गालाई मिचेर बनाइएका घर तथा अन्य पक्की संरचना गाँउपालिकाले डोजर लगाएर भत्काउने प्रमुख प्रशासकिय अधिकृत मणिराम खनालले जानकारी दिए ।
गाउँपालिकालाई ब्यवस्थित बनाउने लक्ष्य अनुरुप पहिलो चरणमा अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन थालेको नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।
‘सार्वजनिक सम्पतिको दोहन गरी कसैले पनि यसरी संरचना बनाउन पाउँदैन’ अध्यक्ष शाहले भने नियम मिचेर बनाइएका यस्ता संरचना क्रमश गाँउपालिकाले भत्काउँदै जानेछ ।’
गाँउपालिकाले सार्वजनिक जग्गाहरू अतिक्रमण गरेर बनाइएका भौतिक संरचनाहरू हटाउन पटक पटक लिखित पत्र समेत दिएको जनाएको छ । स्थानीयले अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको नरैनापुर गाँउपालिकाका अध्यक्ष शाहले बताए ।
गाँउको सडक साँघुरो हुँदै गएकाले ब्यवस्थित रुपमा सडक विस्तार गर्ने उद्येश्यका साथ प्रहरीको सहयोगमा अतिक्रमित घरटहरा भत्काउन सुरु गरिएको अध्यक्ष शाहले जिकिर छ ।
उनका अनुसार पहिलो चरणमा नरैनापुर १ र ४ मा गरी एक दर्जन घरमा डोजर लगाएर भत्काइएको र बाँकी अनाधिकृत रुपमा बनाइएका घर टहरा समयसिमा भित्रै नहटाए डोजर लगाएर भत्काउन बाध्य हुने बताए ।