काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को नवौँ महाधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । गत माघ ४ गते राष्ट्रिय नाचघरमा उद्घाटन गर्दै शुरु भएको नेकपा (बहुमत) को नवौँ महाधिवेशन ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्दै आज (बिहीबार) सम्पन्न भएको हो ।
माघ ५ गतेबाट कीर्तिपुरको शिक्षा शास्त्र संकायको अडिटोरियम हलमा शुरु भएको बन्द सत्रमा १६ वटा समूहले दस्तावेज र विधान पारित गरिसकेपछि बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष दीर्घराज पाण्डेले आयोजक समिति विघटनको घोषणा गर्नु भएको थियो । अध्यक्ष मण्डललाई निर्वाचन मण्डलमा परिणत गरिएको थियो । त्यसको लगत्तै अध्यक्ष मण्डलका सदस्य सरला रेग्मीले केन्द्रीय समिति सदस्यको सङ्ख्या ९९ को प्रस्ताव गरेकी थिइन् । उक्त सङ्ख्यालाई हलले ताली बजाएर पारित गरेको थियो ।
त्यसको लगत्तै सरला रेग्मीले ९९ जना केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गरेकी थिइन् । उनीले प्रस्ताव गरेको नाम हलले ताली बजाएर एकमतले पारित गरेको थियो । केन्द्रीय समितिको चयन एकमतले पारित भएपछि जेष्ठ सदस्य जटिलको अध्यक्षतामा पहिलो बैठक बसी महासचिवमा धर्मेन्द्र बास्तोला 'कञ्चन' लाई निर्वाचित गरेको थियो । निर्वाचन मण्डलका प्रमुख दीर्घराज पाण्डेले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका थिए ।
त्यस्तै उदय बहादुर चलाउने 'दिपक', गुणराज लोहनी, कृष्ण धमाला 'गम्भीर', निर्मल राई, सरद रसाइली, दिपेन्द्र चलाउने, बाबुराम गजमेर, मिलन राई, अनन्त केसी, नरेन्द्र बिक, सागर लिम्बु, देवकला अधिकारी, लालबहादुर बिसी, बिरेन्द्र शाह, हरि चन्द, गोकुल पराजुली, सुजन आयाम, रेखा खनाल, रुपा बुढामगर, बद्रि चौलागई, झलक बिक, अमर केसी लगायत ९९ सदस्य केन्द्रीय समिती चयन गरिएको हो ।
नवनिर्वाचित समितिलाई आयोजक समितिका सदस्य मामाले शुभकामना दिएका थिए । नवनिर्वाचित महासचिवले महाधिवेशन समापन गरेका थिए । समापनसँगै नारा लगाइएको थियो ।