काठमाडौं । नयाँ शिक्षा ऐन जारी गर्न माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका शिक्षक/कर्मचारीमाथि सरकारले बुट र लाठी भड्काएको भन्दै अखिल नेपाल शिक्षक संगठनले सरकारको कडा भर्त्सना गरेको छ।
संगठनका संयोजक रमेश रुपाखेतीद्वारा जारी वक्तव्यमा चैत २० गतेदेखि निरन्तर जारी शिक्षक आन्दोलनमा बैशाख १४ गते सरकारले दमनकारी चरित्र देखाउँदै आन्दोलनकारीहरूलाई लाठीचार्ज, पानीको फोहरा र बुट प्रहार गरेको आरोप लगाइएको छ। उनले सरकारको यस्तो दमनकारी कदमलाई "लोकतन्त्रको खोल ओढेको निरङ्कुशताको साङ्लो" भनेर टिप्पणी गरेका छन्।
"शान्तिपूर्ण रूपमा माग अघि सारेका शिक्षक/कर्मचारीमाथि बल प्रयोग गर्नु सरकारको फासिवादी प्रवृत्तिको घृणित प्रदर्शन हो," रुपाखेतीले वक्तव्यमा उल्लेख गरेका छन्। आन्दोलनकारीहरूका मागहरू तत्काल सम्बोधन नगरे परिणाम गम्भीर हुने चेतावनी संगठनले दिएको छ।
अखिल नेपाल शिक्षक संगठनले दमनका क्रममा घाइते भएका शिक्षक, कर्मचारी तथा पत्रकारहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै, आन्दोलन अझ सशक्त बनाउने घोषणा समेत गरेको छ।