काठमाडौं, सगरमाथाको पहिलो पटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ।
आज १६औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० औं वर्षगाँठ मनाइँदै छ। ७० वर्षअघि आजकै दिन विश्वको सर्वोच्च शिखर सगरमाथा पहिलो पटक सफल आरोहण भएको थियो।
सन् १९५३ मे २९, आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा आफ्नो पाइला राखेका थिए। सोही अवसरमा नेपालमा भव्य कार्यक्रम गरी सगरमाथाको ७०औं वर्षगाठ मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ। दिवसलाई भव्य बनाउन पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्था सहितको मूल आयोजक समिति गठन गरिएको छ।
यस्तै कीर्तिमान आरोही तथा विभिन्न अन्य आरोहीलाई पदक प्रदान गरिने पनि कार्यक्रम छ।
नेपालमा सर्वोच्च शिखर सगरमाथा सहित आठ हजार मिटर अग्ला आठ वटा हिमाल छन्। हालसम्म करीब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन्। आरोहणका क्रममा तीन सय बढीको निधन भइसकेको छ।
सगरमाथा आरोहणको यो सिजनमा मात्रै दुई कीर्तिमान बनेका छन्। कामीरिता शेर्पाले २८ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाएका छन्। यस्तै दुवै खुट्टा नभएका हरि बुढामगरले कृत्रिम खुट्टाको सहायतामा यसै सिजनमा सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन्।
पर्यटन विभागका अनुसार यो सिजनमा हालसम्म ६ सय बढीले सगरमाथाको आरोहण गरेका छन्। यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट शुरू भएको थियो ।