भक्तपुर । भक्तपुरको गाईजात्राको क्रममा परम्परागत घिन्ताङघिसी नाच (लठी जुधाएर खेलिने नाच) सँगै राजनीतिक व्यवस्था र समसामयिक राजनीतिक स्थितिमाथि व्यङ्ग्य भक्तपुरको गाईजात्राको विशेषता बनेको छ । मङ्गलबार सम्पन्न यो वर्षको गाईजात्रामा पनि यस्तै देखिएको छ ।
गाईजात्राको क्रममा पछिल्लो वर्षभरि (यो वर्षको गाईजात्रादेखि अर्को वर्षको गाईजात्रासम्म) जति जना भक्तपुर नगरपालिकावासीको निधन हुन्छ, सामान्यतः उति नै सङ्ख्यामा ताहासाँ (गाईको प्रतीक) लाई बाजागाजाका साथ नगर परिक्रमा गराउने गरिन्छ । जुन घरमा मानिसको मृत्यु भएको हो, त्यही घरबाट निस्केर सुरू हुने जात्रा भक्तपुर नगर परिक्रमा गरी त्यही घरमा पुगेपछि सम्पन्न हुन्छ । परम्परागत घिन्ताङघिसी व्यङ्ग्यात्मक घिन्ताङघिसी सुरू गर्ने गरिन्छ । यस क्रममा नगरका वडा वडाबाट टोल, क्लव, संस्थालगायतले व्यङ्ग्यात्मक घिन्ताङघिसी प्रदर्शन गरिन्छ ।
विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सयौँ घिन्ताङघिसी टोली प्रदर्शनमा उत्रे । यी व्यङ्ग्यात्मक घिन्ताङघिसीहरू विशेषतः राजनीतिक विषयवस्तुमा केन्द्रित रहे । वर्तमान असंसदीय सरकार गठन, नक्कली भुटानी शरणार्थी काण्ड, सहकारी ठगी काण्ड, पानीजहाज, वाइडबडी काण्ड, गिरिबन्धु जग्गा प्रकरण, विद्युत् बक्यौता काण्डलगायतका समसामयिक राजनीतिक विषयवस्तुमा व्यङ्ग्य गरिएका थिए ।
४४ औँ नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) आयोजक समितिको तत्वावधनमा कमलविनायक भक्तपुरबाट निकालिएको यो वर्षको घिन्ताङघिसी नक्कली भुटानी शरणार्थी लगायतका विषयमा केन्द्रित रह्यो ।
भक्तपुर नगरभरिका टोल टोलका विभिन्न टीम, क्लव, वाचनालय आदि संस्थाहरूले पनि व्यङ्ग्यात्मक रूपमा छुट्टाछुट्टै घिन्ताङघिसी निकालेका छन् । व्यङ्ग्यात्मक घिन्ताङघिसी प्रदर्शनीमा जनताले रूचि राख्ने र देशमा भइरहेका विकृति विसङ्गतिबारे सर्वसाधारण जनतालाई बुझाउने र सङ्घर्ष गर्ने सन्देश रहेको स्पष्ट बुझ्न सकिन्छ ।
भक्तपुर नगरको गाईजात्रा आठ रात नौ दिनसम्म गर्ने प्रचलन छ । प्रत्येक वर्ष जनै पूर्णिमाको दिनबाट सुरू हुने यहाँको जात्रा कृष्ण अष्टमीसम्म चल्ने गर्दछ । जात्राको यो अवधिमा प्रत्येक दिन साँझ नगरका टोल टोलमा घिन्ताङघिसीसहित विभिन्न नाच, नाटक, ख्याल (प्रहसन) प्रदर्शन गर्ने गरिन्छ । मजदुर अनलाइन