काठमाडौं ।“संविधान संशोधनले होइन, खारेजीले मात्र परिवर्तन सम्भव छ” – यही नाराले एउटा पुस्ता उठेको थियो। यही नाराले छायाँ राज्यलाई चुनौती दिएको थियो। यही नाराले दर्जनौं युवालाई सहिद बनायो।
तर आज त्यो नाराको नायक, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम दर्ता गराइरहेका छन्। के यो विचारको पराजय हो ? वा समय अनुसार रणनीति फेर्ने चातुर्यता ?
हिजो बन्दूक बोकेको आन्दोलनकारी आज मतपत्र खोज्दैछ। नेकपाले विधान, नियमावली, घोषणापत्र तयार गरिसकेको र छिट्टै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी गरिरहेको जानकारी अनिश शर्मा (प्रचार विभाग) दिन्छन्।
तर प्रश्न उब्जन्छ –'जनयुद्ध' र 'जनक्रान्ति' बीच हिजोको विभेद अब 'जननिर्वाचन'ले मेट्ने हो त? के यो नयाँ जनमत सङ्ग्रह हो? वा त्याग र बलिदानको आत्मसमर्पण?
एक समय विप्लवका समर्थक युवा नेता गोकुल पराजुली खुला लेख्छन्-“तिमीले अगाल्दा नयाँ कार्यनीति, अरूले अगाल्दा संसदवादी? वा रे वा तिम्रो लिला!”
अर्का समर्थक निराजन किरातीले गम्भीर प्रश्न उठाएका छन्-“यही संसदीय निर्वाचन बहिस्कारमा जनताको छोराछोरी सहिद बनाउने अनि अहिले यही व्यवस्थामा भाग लिने? अब राजनीतिको हिसाब राजनीतिले नै देला!”
संसदप्रति वितृष्णा र विद्रोहबाट जन्मिएको आन्दोलन आज संसदको ढोका ढकढक्याउँदैछ। विप्लवको यो मोडले क्रान्तिकारी राजनीतिमा गम्भीर बहसको छाया ल्याएको छ। के यो रणनीतिक 'रुट-परिवर्तन' हो ? वा वैचारिक 'विचलन'?
‘क्रान्तिका कुरा, मतपत्रका कुरा’ एउटै मुखले भन्ने अवस्था क्रान्तिको मूल्य बिर्सँदै जानुको संकेत हो। हिजो 'सुधारवादी' भनेर गाली गर्नेहरूले आज त्यसैको बाटो समातेका छन् भने, जनताले अब प्रश्न गर्न थालेका छन् – "के परिवर्तनको नाममा फेरि एकपटक धोका त दिइँदै छैन ?"