संसारमा दुई राज्य ‘नेपाल’ र ‘भारत’ जहाँ हिन्दु धर्मको अस्तित्व छ । यी दुई राज्यको अतिरिक्त मौरिसस र फिजी जस्ता मुलुकमा पनि हिन्दुज्म छ भन्ने मैले सुनेको हुँ । तर यो कतिसम्म सत्य हो त्यसको बारेमा भने म जानकार छैनँ । अझ भनौं जानकारी हासिल गर्ने यत्न पनि गरिनँ । तर जहाँसम्म हिन्दु सम्प्रदायीक संस्कार फैलिएको छ त्यहाँसम्म मेरो वितृष्णा पनि फैलिएकै छ । यसको अर्थ म यो पनि भन्दिनँ कि समग्र हिन्दुज्ममाथि नै मेरो विरोध छ । बरु म यो भन्न सक्छु कि हिन्दुज्मभित्रका केही पक्षहरु छन्, जोसँग म कदापि सहमत हुन सक्ने छैनँ ।
भारत हिन्दु राज्य हो । भारतको राज्य व्यवस्था र जनमत समेत हिन्दुज्मको पक्षमा छ । तथापि भारतजस्तो हिन्दुराज्यमा समेत पछिल्लो समय क्रिश्चियानिटी बढ्दो छ । भारत पछिको हिन्दुराज्य नेपाल हो । हुनत नेपालको संविधानले धर्म निरपेक्षताको सुनिश्चित गरेको छ तथापि साम्प्रदायिक धरातल भने हिन्दुत्वतिर अधिक झुकेको छ । तर प्रश्न यो कुरामा छ कि पुर्वीया समाजको जुन व्यवस्था छ त्यो पश्चिमाहरुको तुलनामा ठिक विपरीत छ । अथवा भन्न सकिन्छ कि पुर्वीया र पश्चिमा सभ्यता एक-अर्कामा सहमत हुन सक्दैनन् । यसको बाबजुद पनि पछिल्लो समय राज्यको पुर्वीया साम्प्रदायिकतामा पश्चिमा सभ्यता बाक्लै स्तरमा घुसेको छ । अर्थात् क्रिश्चियानिटीले आफ्नो बलियो साम्राज्य खडा गर्दै छ ।
यसको अर्थ मैले यो पनि भन्न खोजेको होइनँ कि क्रिश्चियानिटी नै गलत हो र यसले प्रवेश नै नपाउनु पर्ने हो । यदि मैले यस्तो भन्दै गरेँ भने मपनि यही राज्यका पाख्ण्ड हिन्दुवादी र छिमेकी मुलुक भारतमा व्याप्त पेशेवर हिन्दु व्यवसायीभन्दा केही फरक हुने छैनँ । तर मैले भन्न खोजेको यो मात्रै होकि जुन सम्प्रदायको साम्प्रदायिक संरचना र संस्कार पश्चिमाहरुसँग विलकुल सहमत हुन सक्दैन त्यही सभ्यताका मानिसहरू ह्वारह्वार्ती पश्चिमाहरुलाई किन आत्मसात गर्दै छन् ? जोसँग कहिल्यै केही मिलेन उनीहरूलाई नै अन्धाधुन्ध अंगालीरहेका छन् ? के यसमा तपाईंहरुलाई जिज्ञासा् लाग्दैन ? के यसमा तपाईंहरुलाई कुनै प्रश्न खडा हुँदैन ? के तपाईंहरुलाई कहिल्यै भान हुँदैन ? कि हाम्रो सभ्यतामा केही गलत पनि छन्, जसको कारण साम्प्रदायिक बहिरगमन भइरहेको छ ।
यहाँ यावत् गलतीहरु छन् जसको कारण यसरी धार्मिक, साम्प्रदायिक परिवर्तन भइरहेको छ । हिन्दुज्मले आफूभित्र गाभेका केही त्रुटिपूर्ण व्यवस्थाहरुका कारण यो सबै भइरहेको छ । यहाँ म धेरै कुराको चर्चा टिप्पणी त गर्ने छैनँ बस् एक कुराको म चर्चा गर्न चाहान्छु । जो पनि हिन्दुज्मप्रतिको घृणा, वितृष्णा पैदा गर्ने एक प्रधान कारण हो र जसको परिणामस्वरुप पनि पुर्वीया सभ्यताका बहुसंख्यक मानिसहरु पश्चिमा सांस्कृतिमा ओइरिरहेका छन् ।
उपरोक्त चौपाइ तुलसीदास द्वारा रचित ‘रामचरित मानस’ बाट साभार गरिएको हो । जसमा उल्लेखित ‘शुद्र’ र ‘नारी’ शब्दले यसलाई विरोधको कारण बनाएको छ । उपरोक्त चौपाइको अर्थ यो हुन जान्छ कि ‘ढोल, गँवार ( निर्बुद्धी), शुद्र ( हाम्रो समाजको कथित अछुत वर्ग ), पशु, तथा नारी यी पाँच ताड्ना (दण्ड) का अधिकारी हुन् । अर्थात् यिनीहरूलाई लाठी, दण्ड, प्रताडनाकै माध्यमले नियन्त्रणमा राख्नुपर्छ ।
उपरोक्त चौपाइमा ‘ढोल’ भनेर कसलाई सम्बोधन गरियो त्यो मैले जानिनँ । गँवार अर्थात् अज्ञानी निर्बुद्धीलाई पनि प्रताडित, दण्डित किन गरिनु ? बरु बुद्धि प्रदान गर्नु हिन्दुज्मको स्वभाव हो । तापनि यसमा त्यति आपत्ति छैन । पशुलाई पुजा गर्न, प्रेम गर्न हाम्रै सभ्यताले सिकाएको हो तर यहाँ ताड्नाको कुरा आयो । यो पनि अन्यायपूर्ण नै छ । तर सबैभन्दा आपत्ति त तब आयो जब यसले बतायो कि शुद्र र नारी पनि ताड्नाका अधिकारी हुन् ।
कथित शुद्र (अछुत) वर्गहरु दशौँ हजार बर्षदेखि यही सिद्धान्तमा दबिएर बाँचेका छन् र अबपनि कहिलेसम्म यसैमा थिचिएर निसासिएर मरिमरी बाँच्ने हुन् थाहा छैन । रामचरित मानस त अझै आधुनिक ग्रन्थ हो । यो भन्दा हजारौं बर्ष पुराना ग्रन्थहरुले यही सिकाए कि शुद्रलाई प्रताडित नै गर । शुद्रलाई समाजको बराबरीमा आउन नदेउ अनि शुद्रलाई मौलिक प्राकृतिक मानवीय अधिकारबाट बञ्चित गर । अन्यथा धर्म नष्ट हुनेछ । धर्म भन्दा धेरै तिम्रो व्यवस्था नष्ट हुनेछ । के शुद्र भन्ने जीव मानिस नभएर अरु कुनै निकृष्ट पदार्थ हो ?
अर्कोतिर भन्छन् संसारका सबै प्राणी परमात्माका सन्तान हुन् । संसारका सबै प्राणीलाई परमात्माले जन्म दिएको हो । उसो भए मानिस-मानिस बीचमा यो कस्तो भेद हो ? यो कस्तो तर्क हो ? जसले मानिस-मानिस बीच पर्खाल खडा गर्यो ? कुन आधारले कसैलाई उँच बनायो र कसैलाई नीच ? तब कोही सम्मानका अधिकारी र कोही ताड्नाका अधिकारी कसरी हुनसक्छन् ? यो जुन व्यवस्था छ यसले मानिस-मानिस बीचमा एक स्तर, एक हैसियत, एक धरातल र एक मर्यादा स्थापित हुन दिएन । जब संसार सबै एक सम्बन्धको सूत्रमा अनुबन्धित छ भने कसरी एक मानिस अर्को मानिसको घृणा र ताड्नाको अधिकारी हुनसक्छ ?
नारी प्रकृतिको हिस्स हुन् । प्रकृतिको हिस्सा मात्रै पनि होइनन् बरु आफैमा प्रकृति हुन् । तर स्वामी तुलसीदासले कसरी नारीलाई ताड्नाको अधिकारीको रुपमा परिभाषित गर्न सके ? के हिन्दुज्मको यो भन्दा ठूलो कलंक अरु केही हुन सक्ला ? के हिन्दुवादको यो भन्दा ठूलो भ्रष्ट नीति अरु केही हुनसक्छ ? यसले स्वयं प्रकृतिलाई नै दण्डित गरेको छ र स्वयं प्रकृतिलाई नै पुरुषत्वको पैतालाले थिचारेको छ । तब योभन्दा नृशंस व्यवस्था अरु कुन हुनसक्छ ? यो सभ्यताले आफ्नो अपरिहार्य हिस्सा जसलाई शुद्रको नामले नामाकरण गर्यो र जसलाई स्पर्श गर्नु नै सबैभन्दा ठूलो अधर्म ठान्यो । तर यो जुन व्यवस्थाको सूत्रीकरण गर्यो यो व्यवस्थाले त्यो स्वयंमा कति अधर्म थियो भन्नेमा कहिल्यै अन्तर्दृष्टि पुर्याउन सकेन । हे प्रिय महापुरुष ! जसलाई परमात्माले र भेद गरेन भने उसलाई भेद गर्ने तिमी को हौ ?
आज हिन्दुज्मको निरन्तर विरोध र परित्याग किन भएको छ ? हाम्रा हिन्दु सभ्यताले जन्माएका यस्तै महापुरुषले बसाएको व्यवस्थाको कारण होइन ? आज क्रिश्चियानिटीमा आवद्ध हुने ठूलो हिस्सा को छ ? यही तिमीले पशुको स्तरमा राखेर प्रताड्नाको अधिकारी बनाएको शुद्र सम्प्रदाय होइन ? यो जायज पनि छ । यो आवश्यक पनि छ । किनकि तिमीले जसलाई पशुको स्तरमा राख्यौ । अझै भनौं पशुभन्दा पनि निम्न स्तरमा राख्यौ उनीहरू आफ्नो मनुष्यताको स्तरमा आउन तिम्रो व्यवस्थालाई लात मारेर पराइको व्यवस्थालाई अङ्गिकार गरिरहेका छन् । जुन हक तिमीले दिएनौ त्यही हक प्राप्त गर्न उनीहरू छिमेकीको मार्गमा चल्दै छन् । तब उनीहरूलाई धर्म द्रोही, सांस्कृतिक द्रोही या देश द्रोही भनेर औंला देखाउने तिमीलाई हक पनि कसले दियो ?
अर्कातिर ‘यत्र नारी पुजयते, तत्र रमन्ते देवता’ भनेर पनि व्यवस्था गरिदिने अनि अर्कोतिर नारीलाई पशुको स्तरमा पनि राखिदिने ? यो तिम्रो कस्तो नीति हो प्रिय तुलसीदास ?
तुलसीदासका समर्थकहरुले भन्ने गर्छन् कि ताड्नाको अर्थ दण्ड नभएर ज्ञान हो । एक अर्थले यो सही होला जस्तो पनि लाग्छ । किनकि तुलसीदासले नारीको सम्मानको सम्बन्धमा उनले धेरै सुन्दर व्यवस्था पनि गरेका छन् । तर शुद्र ? शुद्रलाई सम्मान आजसम्म कसले गर्यो ? आजसम्म ज्ञानको अधिकार कसले दियो ? अहिले पनि भारतका कयौं स्कुलहरुमा गैर-शुद्रका बच्चाहरुसँग शुद्रका बच्चाहरुलाई सँगै राखिदैन । तब उतिबेला कहाँ दिइयो ज्ञानको अधिकार ? फेरि ताड्नाको अर्थ ज्ञान कसरी हुनसक्छ ? यदि भयो भनेपनि आजसम्म त्यसलाई सँधै दण्डकै रुपमा त प्रयोग गरिदै आइयो । खोइ अधिकार ? खोइ सम्मान ? खोइ अध्यात्मिक अधिकार अनि खोइ ज्ञानको अधिकार ? क्या मज्जासँग झुक्याएर राखे तुलसीदास जस्ता महान विद्वानहरुले पनि नारी र शुद्रलाई । पशुताको स्तरमा राखेर दण्डित गरिनुपर्ने यो कस्तो सम्मान हो प्रिय हिन्दु ?